Logo

२५ भदौ, काठमाडौँ । आज विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ।

‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मनाइँदैछ।

सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइने गरिन्छ। सन् १६४२ मा सर थोमस ब्राउनीले आफ्नो ‘द रिलिजन अफ डाक्टर (रिलिजियो मेडीसी)’ नामक कृतिमा प्रथम पटक सुसाइड भन्ने शब्दको प्रयोग गरेको देखिन्छ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन्। १५ देखि २९ वर्षका उमेर समूहमा आत्महत्या तेस्रो प्रमुख मृत्युको कारण हो। विश्व स्वास्थ्य ङस्गठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुने गर्दछन्। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्।

विगत एक दशकको तथ्याङ्क हेर्दा आ.व. २०७१/७२ मा वार्षिक ४३३२ जनाबाट आ.व. २०८०/८१ सम्म आइपुग्दा वार्षिक ७२२३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। यो ग्राफ क्रमिक रुपमा उकालो चढिरहेको छ। नेपाल प्रहरीका अनुसार आ.व. २०८०/८१ को तथ्याङ्क अनुसार पुरुष, महिला, बालक र बालिकाले गर्ने आत्महत्याको सङ्ख्या क्रमशः ३७२७, २५७३, ३३१ र ५९२ रहेको देखिन्छ।

नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले प्रकाशन गरेको तथ्याङ्क हेर्ने हो भने विगत दश वर्षमा वार्षिक रुपमा औसतमा ५७५२ जनाले आत्महत्या गर्नेगरेको देखिन्छ।

विगत १० वर्षमा सबैभन्दा बढी कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा आत्महत्या गरेको तथ्याङ्क छ। कुल ३२८७८ जनामा २६६५० जनाले झुण्डिएर, ५६८७ ले विष खाएर र बाँकी अन्य छ। आ.व. २०७५/०७६ देखि आ.व. २०७९/८० सम्मको आत्महत्याको लैङ्गिक अवस्था हेर्दा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ।


सम्बन्धित समाचार