१३ पुष ,वीरगन्ज । वीरगञ्जका उद्योगी व्यवसायीले आज चौथो दिनपनि आन्दोलनलाई जारी राखेका छन् । नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिनुका साथै हातमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघको आव्हानमा नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शन तथा बैंकहरुको चर्को ब्याज दरको विरोधमा वीरगञ्जका व्यवसायी आन्दोलित छन् । नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको आरोप उनीहरुको छ ।
राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण देखाएर अधिकांश बाणिज्य बैंकहरुले तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धी गरिरहेको गुनासो उनीहरुको छ । विभिन्न नीतिगत जटिलताको विरोधमा आन्दोलन गर्न बाध्य भएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद गौतमले बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघबाट निस्केको ¥यालीले वीरगञ्ज नगरको परिक्रमा पछि राष्ट्र बैंकको अगाडि पुगी धर्ना दिएका थिए । उद्योगी व्यवसायीले चर्को ब्याज दर फिर्ता लिन र चालु पूँजी कर्जा मार्गदर्शन अव्यवहारिक रहेकोले परिमार्जन गरी निजीक्षेत्र मैत्री बनाउन माग गरेका छन् ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शन दुई वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ । आज नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् । महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्दा थप समस्या आउने भन्दै तत्कालका लागि स्थगन गर्न सुझाव दिएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री पौडेललाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ र अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेस गर्नुभएको छ ।
सुझाव पेस गर्दै अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पुँजी कर्जा मार्गदर्शन भएको दाबी गर्नुभयो । उहाँले चालुपुँजी कर्जा मार्गदर्शनलाई कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिनुभयो ।