Logo

१२ असोज,काठमाण्डौ । मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ ।

दिउँसोसम्म काठमाण्डौमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, मकवानपुरमा ३ जना, पाँचथरमा ५, सिन्धपाल्चोकमा २, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ । १२ जना बेपत्ता रहेका छन् ।

कठमाण्डौ उपत्यकामा बाढीमा फसेका एक हजार ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पु¥याएको छ । बाढीपहिरोमा परेर केही घाइते भएका छन् । कम्तीमा १५ जना हराइरहेका छन् ।

मकवानपुरमा ज्यान गुमाउनेहरुमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका तीन जना विद्यार्थी रहेका छन् ।

हिजो कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित ठाउँतर्फ जानेक्रममा उनीहरु बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव भेटिएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो ।

कुलेखानी बाँध खोल्दा इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।


सम्बन्धित समाचार