Logo

१८ पुष, चितवन । होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ।महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए। महासङ्घले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ।

सम्मेलनमा देशभरका प्रदेश सङ्घ, जिल्ला सङ्घ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै करिब सात सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उनले बताए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले कोरोना तथा आर्थिकमन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताए। उनले भने, “नारायणगढ बजारमा पनि अधिकांश सटर अहिले बन्द भएका छन्। व्यवसायमा पूरै मन्दी आएको छ। सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ।”

सम्मेलनमा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुति र कार्यशाला पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए। उनले भने, “राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान पनि हुनेछ।” विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी सङ्घको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो।

यसपटक हुने चौथो महाअधिवेशन तथा दशौँ वार्षिक साधारणसभा उद्घाटन अघि भरतपुरको चौबीस कोठीबाट उद्घाटनस्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको प्रभात फेरी गरिने छ। – रासस


सम्बन्धित समाचार