Logo

१४ कात्तिक, बारा । विश्व प्रसिद्ध गढीमाई मन्दिरका चारवटै दान पेटिकाको भेटी गणना कार्य सकिएको छ । बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिर परिसरमा राखिएको चार वटा दान पेटिकाको भेटी सोमबार र मंगलबार गणना गरिएको हो ।

गढीमाई मूल मन्दिरको भित्र तथा मन्दिर परिसरमा राखिएका दानपेटिकाको भेटी गणना गर्दा ७ लाख ३५ हजार रुपैंया संकलन भएको छ । यो रकम रसिद बाहेकको दान रकम हो ।

घटस्थापनाको दिनदेखि २५ दिनको अवधीमा संकलन भएको यो दान रकम गढीमाई विकास समितिको कोषमा जम्मा गरिने महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बताए ।

यादवका अनुसार दानपेटिकाबाट नेपालीसहित विभिन्न देशको मुद्रा र चाँदीले बनाइएको गढीमाईको पाँच जोडी आँखा समेत संकलन भएको छ ।

सोमबार मन्दिर परिसरका २ वटा दानपेटिकाबाट तीन लाख ८७ हजार चार सय ७४ रुपैयाँ भेटी संकलन भएको थियो । बाँकी मन्दिर भित्रका २ वटा दानपेटिका मंगलबार खोलिएको वडा नं १ का वडाअध्यक्ष मनोज कुमार गुप्ताले जानकारी दिए ।

भेटी गणना कार्यमा नगर प्रमुख यादव, गढीमाई विकास समितिका पदाधिकारीको उपस्थिती रहेको थियो ।

चार वटा दानपेटिकाको भेटी गणना गरिसकिएको र रसिद काटी भक्तजनले गरेका दान रकमको गणना बुधबार साँझ हुने नगर प्रमुख यादवले बताए ।


सम्बन्धित समाचार