३० कात्तिक,वीरगञ्ज । तराई मधेशमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामा चकेवा आज समापन गरिँदैछ।
कार्तिक शुक्ल पञ्चमीका दिन शुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ । यही परम्पराअनुसार मिथिलावासी यो पर्व समापनको तयारीमा जुटेका छन् ।
यो पर्व समापन गरिँदा सामा खेलमा प्रयोग गर्ने सतभैया, हात्ती, वृन्दावन, चुगला, सामा र चखेवाका माटाका आकृति दाजुभाइबाट फुटाउन लगाइ जोतिएको खेत वा निर्जन वनमा गाड्ने चलन छ। पर्व समापनमा अवसरमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै मीठा परिकार दिन्छन्।
यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने प्रचलन छ। सामाचखेवा पर्वका ११ दिन तराई मधेशमा दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्यको वर्णन गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ।