Logo

३० कात्तिक,ठोरी । अघिल्ला वर्ष झैं पर्साको ठोरी गाउँपालिका–५ मा लाग्ने ऐतिहासिक र धार्मिक बाघमोर्चामाई मेला आज (शुक्रबार) देखि सुरु भएको छ ।

ठोरी क्षेत्रको शक्तिपीठका रुपमा चर्चित बाघमोर्चा मन्दिर क्षेत्रमा हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाको दिनदेखि लाग्ने मेला यस वर्ष १० दिनसम्म रहने बाघमोर्चा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर लोप्चनले जानकारी दिए ।

ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वा सुगौली गाँपालिका लगायतका स्थानीय तथा सिमावर्ती भारतीय क्षेत्रमा समेत शक्तिकी देवीको रुपमा पुजिने बाघमोर्चा मन्दिरमा आज बिहानैदेखि श्रद्दालुभक्तजनहरुको ठूलो भीड लागेको छ।

बिहान करीब ३ बजेदेखि नै मन्दिरमा बोका, हाँस, कुखुराको बलि चढाउन आउनेहरूको घुइँचो लागेको पशुबली दिने कार्यमा सहभागी वृज किशोर चौधरीले जानकारी दिए ।अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर भन्दा धेरै पशु बली दिइएको चौधरीको भनाई छ । कति पशु बली अघिल्लो बर्ष दिइयो भन्ने तथ्याङ्क नभएपनि पोहोरको तुलनामा यस वर्ष बली दिनेको सङ्ख्यामा वृद्धि भएको हो ।

अघिल्लो वर्षको तुलनामा भक्तजनको पनि भीड लागेको मेला व्यवस्थापन समितिले जनाएको छ । मन्दिर परिसरमा बिहान ३ बजेदेखि लागेको भीड मध्याह्न १२ बजेसम्म पनि कम नभएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष लोप्चनले बताए ।
यसबर्ष पनि मन्दिरमा पूजा अर्चना गर्न आउने श्रद्दालु भक्तजनहरुलाई सहजै पूजा अर्चना गराउन लाइन मार्फत मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।

यस्तै पशुबली दिन आउनेहरुलाई पनि पालैपालो बलि दिन पाउने व्यवस्था मिलाइएको छ। मेलामा बिगत बर्षहरुमा झैं यसबर्ष पनि होटेल, पसलको स्टल तथा बालबालिकाको लागि मनोरञ्जनात्मक खेलौना र बाल उद्यान बनाईएको छ ।
आर्थिक चहलपहल वृद्धि र पर्यटन प्रवर्द्धनका निमित्त प्रत्येक वर्ष एक सातामात्र लाग्ने गरेको मेलाको समयावधी यस वर्षदेखि बढाइएको हो ।


सम्बन्धित समाचार