१३ मंसिर,काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (बिहीबार) काठमाडौं ल्याइने भएको छ । उनलाई साँझ ५ः३० बजेको जहाजमा पोखराबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिन लामिछानेलाई काठमाडौं ल्याउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियामा समेत गएको देखिन्छ । रवि र उनका पार्टनर एवं गोरखा मिडियाका अध्यक्ष जीबी राईले संयुक्त नाममा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।
रवि जोडिएको गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रूपैयाँ पेस्कीबापत गएको देखिन्छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिइएको थियो ।
उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रूपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ ।
त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।