१३ मंसिर,सिमरा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको समन्वयमा बाराको जीतपुर बजारमा नापातौल शिविरको आयोजना गरिएको छ ।
नापतौल तथा गुणस्तर विभागको बीरगञ्ज कार्यालयबाट खटिएका कर्मचारीहरुद्वारा जीतपुरसिमराका व्यवसायीको नापतौल सामग्री परिक्षण तथा प्रमाणपत्र नवीकरण कार्यका लागि शिवीरको आयोजना गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताले जानकारी दिए ।
मंगलवारदेखि तीन दिनसम्म जीतपुरसिमरा उद्योग वाणिज्य संघको कार्यालय जीतपुरमा शिविर सञ्चालन गरिएको गुप्ताले बताए । बुधबार र विहिबार सिमरास्थित आन्तरिक राजश्व कार्यालयसंगै रहेको उद्योग वाणिज्य संघको सेवाकेन्द्रमा शिविर सञ्चालन हुनेछ ।
शुक्रबार जीतपुरसिमरा १५ डुमरवानास्थित वडा कार्यालय र शनिवार जीतपुरसिमरा २१ अमलेखगञ्जस्थित वडा कार्यालयमा नापतौल सामग्री जाँचका लागि घुम्ति शिविर सञ्चालन हुनेछ ।
उपाध्यक्ष गुप्ताका अनुसार जीतपुरसिमराका व्यवसायीहरुलाई बीरगञ्जसम्म पुग्न टाढा हुने भएकोले शिविर सञ्चालनले समय तथा पैसा दुबैको बचत सहित सरल सेवा प्रदान गर्ने उद्देश्यले नापतौल कार्यालय वीरगञ्जसंग समन्वय गरि शिविर सञ्चालन गरिएको हो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जीतपुर, सिमरा, डुमरवाना र अमलेखगञ्ज क्षेत्रका व्यवसायीहरुलाई शिवीरमा सहभागि भई नापतौल सामग्री अद्यावधिक गर्न आग्रह गरे ।
नापतौल सामग्रीको अनुगमनका क्रममा हुने कारवाहीबाट बच्न समेत नापतौलका सामग्री अद्यावधिक आवश्यक रहेको भन्दै अध्यक्ष शर्माले शिवीरको फाइदा उठाउन आग्रह गरे । नापतौल सामग्रीको जाँच शिवीरमा उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीको प्रमाणपत्र समेत संगै नविकरण गर्ने सुविधा उपलब्ध गराएको संघका कोषाध्यक्ष रामबाबु कलवारले बताए ।