Logo

८ माघ, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले यस वर्ष पनि धान खरिदको लक्ष्य भेटाउन नसक्ने देखिएको छ ।

यो वर्ष ४२ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले अहिलेसम्म २२ सय ७० क्वीन्टल मात्र खरिद गरेको छ । मङ्सिर २० गतेबाट किसानका धान खरिद गर्न थालेको खाद्य व्यवस्था कम्पनीले माघ ७ गतेसम्म २२ सय ७० क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख पंकज कुमार झाले बताए ।

कार्यालय प्रमुख झा अनुसार अहिले पर्सा र बाराका किसानहरु न्यून मात्रामा धान खरिद गर्न आईरहेका छन् । सरकारको मूल्यभन्दा बजारमा मूल्य बढी पाईरहेको कारण किसानहरु धान विक्री गर्न नचाहेका हुन् ।

सोना मन्सुली धानको नेपाल सरकारले तोकेको समर्थन मूल्य अनुसार ३५ सय ८० रुपैयाँ ६२ पैसामा धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले जनाएको छ । सोना मन्सुली धान ३५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म २२ सय क्विन्टल खरिद गरिएको कार्यालय प्रमुख झाले बताए । यस बर्ष जिरा मसिनो धान विक्री गर्न किसानहरु नआएको उनको भनाई छ ।

बारा र पर्सा जिल्ला गरेर जम्मा ४९ जना किसानले धान विक्री गर्न आएको कार्यालयले जनाएको छ । नगद रुपमा पैसा चाहेकाहरुले मात्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखामा धान विक्री गर्न आएको कार्यालयका बरिष्ठ सहायक तथा सूचना अधिकारी समिर दाहालले बताए ।

दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान नबेचेका हुन् । यो वर्ष समर्थन मूल्य केही बढेपनि बजार मूल्यभन्दा कमै भएकोले किसानहरु धान बेच्न नआएको उनको भनाई छ । किसानले अहिले पनि धान बेच्न चाहेमा कार्यालय धान खरिद गर्न तयार रहेको समेत उनले बताए ।


सम्बन्धित समाचार