Logo

१८ माघ, काठमाडौँ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी चैत २३ गते चुनाव हुने भएको छ ।

नेपाल बारको बिहीबार बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालखबरलाई जानकारी दिए । उनका अनुसार बैठकले वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ ।

अब देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्ने चुनावबाट २७ ‍औँ कार्यसमिति चयन गर्नेछन् । कार्यसमिति २५ सदस्यीय हुन्छ ।

नेपाली कांग्रेस र नेकपा एमालेनिकट संगठनहरू नेतृत्वका मुख्य दाबेदार छन् ।  यसपालि सरकारमा यी दुवै दलको गठबन्धन भएकाले बारमा कस्तो समीकरण बन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

हालै सर्वोच्च अदालत बार एसोसिएनमा कांग्रेस र एमालेनिकट संगठन आमनेसामने भएका थिए । कांग्रेसनिकट संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका उम्मेदवार मेघराज पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए। नेकपा एकीकृत समाजवादीनिकट संगठनको पनि उनलाई साथ थियो ।

यसअघि २०७८ चैतमा बारको चुनाव भएको थियो । त्यतिखेर नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । उक्त गठबन्धनबाट हालका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानलै विजयी भएको थियो । उनले ४ हजार ४७४ मत ल्याउँदा नेकपा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारी २ हजार ४८२ मतले पारजित भएका थिए ।

नेपाल बारमा प्रत्येक ३ वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुन्छ ।


सम्बन्धित समाचार