![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/bhajapako-jit.webp?fit=1268%2C855&ssl=1)
२७ माघ, वीरगञ्ज । जनता पार्टी (भाजपा) ले शनिवार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप)का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।
भाजपाले दिल्लीमा ७० सिटमध्ये ४८ सिट जितेको छ। आम आदमी पार्टी २२ सिटमा सीमित भएको छ ।
सङ्घीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको भारतीय नेशनल काङ्ग्रेस विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ ।
सुशासन’को विजयः मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै केन्द्र र राज्यमा भाजपाको ‘सुशासन’को विजय भएको बताए ।
उनले दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले भने, “हामी दिल्लीको विकास गर्न, जनताको समग्र जीवनस्तर सुधार गर्न र विकसित भारत निर्माणमा दिल्लीको प्रमुख भूमिका सुनिश्चित गर्न कुनै कसर बाँकी राख्नेछैनौं । यो हाम्रो प्रतिवद्धता हो ।
आपद्वारा हार स्वीकार
दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गरेका छन् भने आप नेता तथा पूर्वमुख्यमन्त्री केजरीवाल, पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठकले चुनाव हारेका छन् ।
आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयको लागि बधाई दिएका छन् । एक्जिट पोलले भाजपाको जित हुने देखाएको र पूर्वानुमानअनुसार नै यो नतिजा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।