Logo

२१ फागुन,वीरगञ्ज । मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकारको बारेमा व्यक्त अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मधेस प्रदेश र प्रेस सेन्टर नेपाल धनुषाले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

मंगलबार जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनी २०८१ को उद्घाटन समारोहमा मधेश प्रदेश संसदीय दलका नेतासमेत रहनु भएका मन्त्री यादवले केही पत्रकारहरूले फोनमार्फत विज्ञापन तथा योजना माग्ने, नदिए धम्क्याउने, विरोधमा समाचार प्रकाशन गर्ने जस्ता गतिविधि गरिरहेको अभिव्यक्ति दिनुभएको थियो ।

पत्रकारिता पेशाको नाम बदनाम गर्ने जो कोहीप्रति कानुनी कारवाहीको लागि महासंघ प्रतिबद्ध रहेको जनाउदै तर आधार प्रमाणविना सम्पूर्ण पत्रकारलाई शंकाको घेरामा पार्ने, पेशागत निष्ठा एवं विश्वसनीयतामा प्रश्न उठाउने र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने कुनै पनि अभिव्यक्ति महासंघलाई स्वीकार्य नहुने जनाएको छ ।

पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्ति र प्रेस सेन्टर नेपाल धनुषाका अध्यक्ष दीपक मिश्रले विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिले पत्रकारिता पेशाको दुरुपयोग गर्दै आचारसंहिता विपरीत कार्य गरेको छ भने त्यसको प्रमाणसहित नाम सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

यदि कुनै पत्रकारले मन्त्री यादवसँग यस्ता गतिविधि गरेको प्रमाण छन् भने सार्वजनिक गर्न अनुरोध गर्दै अन्यथा मन्त्री यादवलाई आफ्नो गैर जिम्मेबार अभिव्यक्ति सच्याउन महासंघ र सेन्टरले आग्रह गरेको छ ।

 


सम्बन्धित समाचार