Logo

१० माघ, वीरगञ्ज । भंसारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुख दिन थालेको भन्दै वीरगञ्ज भंसार एजेण्ट संघले भोली देखि भंसार जाँचपासको काम ठप्प पार्ने भएको छ ।

वीरगञ्ज भंसार एजेन्ट संघले आज निमित्त प्रमुख भंसार अधिकृत राजेन्द्र प्रसाद चुडाललाई ज्ञापन पत्र बुझाउदै प्रहरीले भंसार परिसरबाट गाडी नियन्त्रणमा लिइ गन्तब्य तर्फ जान अवरोध गरि दुख दिने गरेको बिषयलाई गम्भिर रुपमा लिन आग्रह गरेको छ ।

भंसार चेकजाँच भई भिसिटिएस प्रणालीमा इन्ट्री गरी गन्तव्य तर्फ जान लागेका गाडी भंसार यार्ड क्षेत्रबाट घुमुवा प्रहरीले नियन्त्रणमा लिई गालीगलौज गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा लैजानेगरेको वीरगञ्ज भंसार एजेन्ट संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रहरीले यो विचमा १२ वटा गाडी नियन्त्रणमा लिएको र त्यस मध्ये १० वटा गाडी राजश्व अनुसन्धान कार्यालय पथलैयाले चेकजाँच गरी छोडिदिएको संघले जनाएको छ । अझै २ वटा गाडी प्रहरी नियन्त्रणमा रहेको वीरगञ्ज भंसार एजेन्ट संघका सहसचिव भानुभक्त अधिकारीले बताए ।

उनका अनुसार ना ५ ख ३८४७ र विआर ०५ जि ९४९१ नम्बरको गाडी प्रहरी नियन्त्रणमा रहेको छ । एउटा विधि प्रकृयाबाट चेकजाँच भएको गाडी अर्को निकायले हस्तक्षेप गरेर नियन्त्रणमा लिने र व्यवसायीलाई दुख दिने कार्य तत्काल नरोकिए बुधवार देखि वीरगञ्ज भंसारबाट हुने जाँचपासको सम्पूर्ण काम ठप्प पार्ने निर्णयमा भंसार एजेन्ट संघ पुगेको सहसचिव अधिकारीले बताए ।

प्रहरीले अधिकार क्षेत्र बाहिर गएर गाडी नियन्त्रणमा लिएपछि व्यवसायीले लोडिङ र अनलोडिङको खर्च, गाडीको डिटेन्सन खर्च तथा मानसिक यातना भोग्नु परेको अवस्थालाई अन्त्य नगरे सम्म भंसार प्रतिनिधि मार्फत हुने चेकजाँचका काम पूर्ण रुपमा ठप्प हुने संघले जनाएको छ ।


सम्बन्धित समाचार