Logo

४ चैत,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चाप बढेपछि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ कार्यतालिका लागू गरेको छ ।

कार्यालयले मंगलबारदेखि सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान ७ः३० देखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवा सञ्चालन गर्ने जनाएको छ ।

पर्साका सहायक जिल्ला प्रमुख अधिकारी सुमन कुमार कार्कीले सेवाग्राहीको अत्यधिक चापका कारण लामो लाइन र प्रतीक्षाको समय बढेपछि सेवा समय विस्तार गरिएको बताए । कामकाजी र अन्य नागरिकलाई अफिस समयपछि पनि सेवा लिन सहज होस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले तोकिएको समयमा उपस्थित भई पालो अनुसार सेवा लिन आग्रह गरेको छ । साथै, अनावश्यक भिडभाड नगरी सुव्यवस्थित तरिकाले सेवा उपयोग गर्न अनुरोध गरिएको छ ।

यस नयाँ व्यवस्थाले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र सम्बन्धी प्रक्रियामा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।

 


सम्बन्धित समाचार