Logo

६ चैत,वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमाको मतगणनामा ढिलाई भएको छ । मंगलबार राति अबेर सम्पन्न मतदानको राति नै मतगणना गर्ने सहमति गरेपनि निर्वाचनमा उम्मेदवारका प्रतिनिधि नआएको भन्दै बुधबार बिहान सबै प्रतिनिधिलाई बोलाएर मतगणना गर्ने उल्लेख गरेको सूचना जारी गरेको थियो । तर, अहिलेसम्म पनि मतगणना शुरु हुन सकेको छैन । मतगणना शुरु नहुनुमा निर्वाचन अधिकृत दिलिप सिंह र क्याम्पस प्रमुख रणजित यादव कारक बनेको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।

निर्वाचन अधिकृत सिंहले मतदानको समयमा पनि दिनभरी मोबाइलन नलाग्ने बनाएर सूचनाबाट बञ्चित गराएका थिए । सञ्चारकर्मीहरुलाई पनि प्रवेश निषेध गरेको थियो । अहिलेपनि प्रतिनिधि नआएको बाहनामा मतगणना गर्न ढिलाई गरेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) क्याम्पस प्रशासन र निर्वाचन समितिले मतगणना सुरु गर्न आलटाल गरेपछि मतगणनाको निष्पक्षतामा शंका बढ्दै गएको छ । बुधबार बिहान १० बजे विद्यार्थी संगठनका प्रतिनिधिहरू मतगणना स्थलमा पुग्दा उनीहरूलाई प्रहरीले बल प्रयोग गरी बाहिर निकालेको थियो।

प्रमुख निर्वाचन अधिकृत सिंहले भने विद्यार्थी संगठनले प्रतिनिधिहरूको नामावली पठाएपछि मतगणना सुरु गर्ने बताएका छन्। उनले सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाउनुको कारण मतदानको समयमा विवाद भएको जनाएका छन्।

मतदानमा विवाद सञ्चारकर्मीले गर्दा हुने भन्दापनि निर्वाचन अधिकृतहरुकै नियतले विवाद हुने हो । उनीहरुको नियत सही नभएकै कारणले सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाएको र मतगणना समेत ढिलाई गरेको आम बुझाई बन्न थालेको छ ।

ठाकुरराम क्याम्पसमा मंगलबार भएको मतदानमा १० हजार ७२९ मध्ये ४ हजार २९९ मत खसेको थियो। स्ववियु सभापति पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


सम्बन्धित समाचार