
६ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना शुरु भएको छ । हिजो साँझ सम्पन्न मतदानको राति नै मतगणना गर्ने भनिएपनि उम्मेदवारका प्रतिनिधिहरु उपस्थित नभएको भन्दै आज बिहान गणना गर्ने तयारी गरेको थियो ।
तर, व्यवस्थित मतगणनास्थल नहुँदा र निर्वाचन अधिकृत र क्याम्पस प्रशासनको लापरवाहीले गर्दा आज बिहान तोकिएको समयमा मतदान हुन नसकेको हो । निर्वाचन अधिकृत र क्याम्पस प्रशासनले उम्मेदवारको प्रतिनिधि नआएको बहाना बनाएर मतगणनामा आलटाल गरेका थिए ।
निर्वाचन अधिकृत र क्याम्पस प्रशासन कार्यशैलीको विद्यार्थीहरुले विरोध गर्न थालेपछि अहिले अपरान्हदेखि मतगणना शुरु गरिएको हो । दिउँसो निर्वाचन समितिले उम्मेदवारका जनप्रतिनिधिलाई मतगणना स्थलमा मोबाईल लान निषेध गरेपछि प्रतिनिधिहरुले भने मोबाईल लान पाउनुपर्ने भनेपछि विवाद भएको हो ।
निर्वाचन समिति र क्याम्पस प्रशासनले मतगणना स्थलमा सीसीटीभी क्यामेराको पनि व्यावस्था नगरेको र प्रतिनिधिहरुले मोबाईल पनि लान नपाउने भए मतगणना स्थलको कम्पाउण्डसम्म सञ्चारकर्मीलाई बस्न दिनुपर्ने विद्यार्थी संगठनले माग गरेका थिए । तर, सञ्चारकर्मीहरुलाई पनि बस्न नदिने भनेपछि विवाद भएको थियो ।
पछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र नेपाल पत्रकार महासंघ पर्सा शाखाको समन्वयले एकपटकमा पाँचजना सञ्चारकर्मीलाई मतगणना स्थलसम्म गएर फोटो खिच्न पाउने वातावरण बनाएपछि मतगणना शुरु भएको हो । अहिले मतपेटिका खोली सकिएको र मतगणनाको प्रकृया शुरु गरेको छ ।
मतगणना चाडै सम्पन्न गर्नका लागि चार ठाउँबाट मतगणना सुरु गरिएको ठाकुरराम बहुमुखी क्याम्पसको निर्वाचन समितिले जनाएको छ । हिजो सम्पन्न मतदानमा ठाकुरराम क्याम्पसमा १० हजार ७२९ मध्ये ४ हजार २९९ मत खसेको थियो । स्ववियु सभापति पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसैबीच वीरगन्ज नर्सिङ क्याम्पसमा स्थगित भएको मतगणना सुचारु गर्ने विषयमा छलफल चलिरहेको छ । हिजो मतदान सकिएर गएराति नै मतगणना गरिएपनि केही मतपत्रमा विवाद भएपछि मतगणना स्थगित गरिएको हो । मतगणनामा क्याम्पस प्रमुखले धांधली गरेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गर्न थालेपछि मतगणना प्रकृया रोकिएको थियो ।
मतगणना अन्तिम चरणमा पुग्दा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले पुनःगणना हुनुपर्ने माग गरेपछि मतगणना स्थागित भएको हो । मतगणना हुदै गर्दा विद्यार्थी संगठनहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो । रोकिएको मतगणना सुचारु गर्ने विषयमा अहिले विद्यार्थी संगठन, उम्मेदवार, निर्वाचन समिति र सुरक्षा अधिकारीहरुबीच छलफल भईरहेको छ ।
क्याम्पस प्रमुखले जबजस्ती अनेरास्ववियुलाई जिताउन खोजेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले क्याम्पसको मूलगेट अगाडी विरोध प्रदर्शन गरेपछि अन्तिम समयमा मतगणना कार्य रोकिएको हो । राति नै मतगणना सुरु गरिएको थियो ।
५२ मतपत्र मात्र बाँकी रहँदा धांधली भएको आरोप सहित विरोध भउपछि मतगणना प्रकृया रोकिएको निर्वाचन अधिकृत अञ्जु महतोले बताउनुभयो । नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले पुनः गणनाको माग गरेका छन् । हिजो भएको मतदानमा २७३ मतदाता संख्या रहेको वीरगन्ज नर्सिङ कलेजमा २७१ मत खसेको थियो । वीरगञ्ज नर्सिङ्ग क्याम्पसमा मतगणना रोकिएको छ ।