Logo

२९ चैत,लुम्बिनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन आज बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको छ। कपिलवस्तुको लुम्बिनी संस्कृति नगरपालिकामा आयोजित महाधिवेशनको उद्घाटन नेपाल सरकारका सञ्चार, सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले गरेका हुन्।

महाधिवेशनको बन्दसत्रमा अहिलेसम्म भएका सांगठनिक गतिविधि तथा आर्थिक प्रतिवेदनहरू पारित गरिनेछ। साथै, आगामी दिनका लागि महासंघको नीति निर्माण र नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अगाडि बढाइनेछ।

महाधिवेशनमा सहभागी वक्ताहरूले नेपाली पत्रकारितालाई निर्वाध रूपमा कलम चलाउन पाउने वातावरण र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्न माग गरेका छन्। फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न सञ्चार संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए।

देशभरबाट करिब चार सय प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहेको महाधिवेशनमा काठमाडौं शाखाले प्रकाशन गरेको भित्तेपात्रो र फोनिज संघीय समितिले प्रकाशन गरेको स्मारिका पनि विमोचन गरिएको थियो। महाधिवेशनले आदिवासी जनजाति पत्रकारहरूको हकहित र समग्र पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।


सम्बन्धित समाचार