२४ वैशाख, नयाँदिल्ली । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा लडाकु विमान दुर्घटनाग्रस्त भएका छन्। पाकिस्तानी सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।
भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार, एउटा लडाकु विमान भारत प्रशासित कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, दोस्रो लडाकु विमान कश्मीरकै अखनूरमा र तेस्रो रामबनमा खसेको छ। अर्को लडाकु विमान पञ्जाबको बठिन्डामा खसेको बताइएको छ। यी लडाकु विमानहरू पाकिस्तानले खसालेको हो वा दुर्घटनामा परेको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन।
यद्यपि, भारतीय वायुसेनाका अधिकारीहरूले भारतीय लडाकु विमान खसेको पुष्टि गरेका छैनन्। उनीहरूले बरु पाकिस्तानी जेएफ–१७ लडाकु विमान खसेको हुन सक्ने तर्क गरेका छन्।
तर, पाकिस्तान र पीओकेका चरमपन्थी शिविरहरूमा भारतको एयर स्ट्राइकपछि जम्मु–कश्मीरमा तीन र पञ्जाबमा एउटा लडाकु विमान खसेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन्।














