Logo

२९ वैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा बढ्दो जलवायु परिवर्तन र सामाजिक–राजनीतिक विसङ्गतिका समस्यामा भगवान गौतम बुद्धको शिक्षाले महत्वपूर्ण समाधान दिन सक्ने विश्वास व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश दिँदै उपराष्ट्रपति यादवले बुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा प्रेरणा दिने बताउँदै भने, “गौतम बुद्धको शिक्षाले हामीलाई प्रकृतिसँग सहअस्तित्वका साथ बाँच्न सिकाउँछ। यही मार्गले जलवायु संकटको सामना गर्न मद्दत गर्छ ।”

उनले भगवान बुद्धद्वारा प्रदत्त ‘मध्यम मार्ग’ र ‘अष्टाङ्गिक मार्ग’ जस्ता सिद्धान्तहरूलाई आत्मसात गर्न सबैलाई आह्वान गरे। “वर्तमान विश्वमा द्वन्द्व, तनाव, हिंसा र असमानता व्याप्त छन्। यस्तो अवस्थामा बुद्धका उपदेशहरू – मैत्री, करुणा, शान्ति र अहिंसाको मार्ग – मानवता र सभ्यताका लागि मार्गदर्शक हुन सक्छन्,” उनले भने ।

बुद्ध जयन्तीको सांस्कृतिक महत्वलाई उल्लेख गर्दै उपराष्ट्रपति यादवले बौद्ध धर्मावलम्बीहरूले विहार र गुम्बामा सामूहिक उपासना गरी “सामूहिकतामा एकता, हाम्रो विशेषता” भन्ने भावना सजीव राखेको बताए। यस पर्वले आत्मजागरण, शान्ति र सकारात्मक सामाजिक परिवर्तनको सन्देश दिने उनको भनाइ छ ।

त्यसैगरी, आजकै दिन परेको स्वाँया पुन्ही, उभौली पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्तीका अवसरमा पनि उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै