७ जेठ, वीरगञ्ज । नागढुङ्गा(नौबिसे सडकखण्ड विस्तारको काम तीव्र पार्नका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दैनिक साढे ४ घण्टा सडक बन्द गरिने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म यो खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
यो निर्णय धादिङ जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा गरिएको हो। यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रात्रिकालीन समयमा मात्र काम हुँदै आएकोमा अब दिउँसोको समयमा समेत काम गर्न लागिएको हो। सडक निर्माण आयोजनाले रातको समयमा भत्काउने काम गरिए पनि प्राविधिक रूपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै आवश्यक परेकाले सडक बन्द गर्नुपरेको जनाएको छ।
वैकल्पिक मार्गहरू
सडक बन्दको अवधिमा यात्रुहरूलाई धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।
सवारी साधन रोकिने स्थान
बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरूलाई नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरूलाई खानीखोलामा रोकिने व्यवस्था मिलाइएको छ।

















