Logo

७ जेठ, काभ्रेपलाञ्चोक — सस्तोमा डलर साटिदिने भन्दै काभ्रेको खड्पु जंगलमा २५ लाख लुटिएपछि सुरु भएको प्रहरी अनुसन्धान एक पछी अर्को सनसनीपूर्ण खुलासामा परिणत भएको छ। डलर ठगीको पर्दाफास हुँदै जाँदा प्रहरीले अर्को २५ लाखसहित अवैध सुनचाँदी कारोवारमा संलग्न गिरोहलाई पनि पक्राउ गरेको छ।

बुटवलका एक व्यक्ति लुटिएको खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहको नेतृत्वमा सुरु गरिएको अपरेसनले बुधबार बनेपाको मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा छापा मारेको थियो। सो क्रममा ७०१।९१ ग्राम सुन, ३२७।७५ ग्राम चाँदी र नगद १ लाख २१ हजार नेपाली रुपैयाँ तथा २५ हजार ३ सय भारतीय रुपैयाँसहित ५ जना पक्राउ परे।

पहिले पक्राउ, पछि कनेक्सन खुले

यसअघि मंगलबार साँगाबाट प्रहरीले २५ लाख बोकेर हिँडेका सिन्धुपाल्चोकका २१ वर्षीय राजन धमला र सप्तरीका ३८ वर्षीय सञ्जय कुमार साहलाई पक्राउ गरेको थियो। यिनकै बयानका आधारमा प्रहरीले सुन व्यवसायीहरूसम्म पुग्न सफल भयो।

पक्राउ परेका पाँचमध्ये तीन जना भारतीय नागरिक छन् — पश्चिम बंगालका दिपंकर मैती ९४७०, सुमन सासमोल ९३००, र ऋषीकेश गोड्से ९३८०। बाँकी दुई नेपाली विजय घोराइ ९२२० र दिपंकर साउ ९३८० हुन्।

सुन पसलको भित्री चलखेल

प्रहरीका अनुसार पक्राउ परेका ऋषीकेश गोड्सेले मंगलबार लुटिएको भनिएको २५ लाख पठाएको खुलेको छ। यही आधारमा मनकामना ज्वेलर्समा छापा मारिएको हो। डिएसपी मिन बहादुर घलेका अनुसार, “डलर ठगीमा पक्राउ परेकाको बयानले सुनका गहना अवैध रूपमा निर्माण गर्ने गिरोहसम्म प्रहरीलाई पुर्यायो।”

ठगीको कथा

पीडित बुटवलका एक व्यक्ति थिए, जसलाई गिरोहले “सस्तोमा डलर साटिदिन्छौं” भन्दै बनेपा बोलाएको थियो। उनी २५ लाख लिएर पुगेका थिए। त्यहाँ उनलाई २० रुपैयाँका नोट मिलाएर करिब १४ हजार रुपैयाँको डलर दिएको नाटक गरियो। यथार्थ बुझेपछि उनले प्रहरीलाई खबर गरे।

प्रहरीले तत्कालन चेकजाँच कडा पार्दै दुई जनालाई डलरसँगै पक्राउ गर्‍यो। तर त्यो रकम ठगिएको पीडितको नभई सुन कारोबारको भएको खुल्न आइपुग्यो।

अनुसन्धान जारी

एसपी शाहका अनुसार मंगलबार २५ लाख लिएर भागेकाहरूको खोजी अझै जारी छ। यसबीचमा पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको छ।


सम्बन्धित समाचार