१५ असार, काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा फेरि तनाव चुलिएको छ ।
गएराति अबेर पाकिस्तानी सेनाले डुरान्ड रेखानजिकै पर्ने अफगानिस्तानका विभिन्न क्षेत्रमा शक्तिशाली हवाई हमला गरेको छ। यस आक्रमणमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् । पाकिस्तानले यसलाई ‘आतंककारी विरुद्धको लक्षित कारबाही’ भनेको छ भने अफगानिस्तानको तालिबान सरकारले यसको कडा शब्दमा निन्दा गर्दै सर्वसाधारणलाई निशाना बनाइएको दाबी गरेको छ ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारका अनुसार पाकिस्तानी सेनाले पहिले डुरान्ड रेखानजिकै योजनाबद्ध स्थलगत कारबाही (अपरेशन) चलाएको थियो । त्यसलगत्तै प्रतिबन्धित संगठन जमात-उल-अहरार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का सुरक्षित शिविर र लुक्ने ठाउँहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको हो ।
खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा गरिएको स्थलगत कारबाहीमा आतंकवादी कमान्डर खान फ्रोस ९जबाल० सहित तीन जना मुख्य लडाकु मारिएको र थप केही घाइते भएको दाबी पाकिस्तानले गरेको छ ।
यता, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने पाकिस्तानको यो कदमलाई ुकायरतापूर्णु भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले पाकिस्तानी सेनाले आतंककारीलाई नभई सर्वसाधारण नागरिक, महिला र बालबालिकालाई निशाना बनाएको र यसबाट ठूलो संख्यामा मानवीय क्षति भएको बताएका छन् । मिडिया रिपोर्टका अनुसार यो हवाई हमला पूर्वी अफगानिस्तानको कुनार प्रान्त तथा दक्षिणपूर्वी भागमा पर्ने पक्तिया र पक्तिका प्रान्तका विभिन्न जिल्लाहरूमा गरिएको हो ।
यस सैन्य कारबाहीबाट सबैभन्दा बढी क्षति पक्तिया प्रान्तको मन्डिखेल गाउँमा भएको छ । तालिबान सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणअनुसार मन्डिखेल गाउँमा मात्रै करिब १०० जना मारिएका वा घाइते भएका छन् । यो घटनाले दुई छिमेकी देशबीचको कूटनीतिक र सैन्य सम्बन्धलाई थप जटिल र तनावपूर्ण बनाएको छ ।

















