१५ असार, ललितपुर । ललितपुरमा हात र ओछ्यानमा रातो अबिर दलेर हत्याको झुट्टो ‘प्र्याङ्क भिडियो’ बनाई समाजमा अफवाह र त्रास फैलाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी परिसर ललितपुरले महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीस्थित युनाइटेड कलोनी नजिकै डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा गुरुङलाई नियन्त्रणमा लिएको हो ।
मूल घर पर्वतको फलेवास नगरपालिका वडा नं. १० भएकी गुरुङले सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनलाई कानुनी फन्दामा पारेको हो ।
प्रहरीका अनुसार मन्दिराले आफ्नो हात र ओछ्यानभरि रातो अबिर दलेर रगत जस्तो देखिने बीभत्स दृश्य तयार पारेकी थिइन् । त्यसपछि उनले ‘मैले साथीलाई मारेँ’ भन्दै आफ्नी साथी सुस्मिता जिरेललाई भिडियो कल गरेकी थिइन् ।
भिडियो कलमा हत्या भएको जस्तो दृश्य र ओछ्यानभरि रगत लत्पतिएको देखेपछि अत्तालिएकी सुस्मिताले ढिलाइ नगरी तत्कालै जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुममा घटनाबारे खबर गरेकी थिइन् । हत्या जस्तो संवेदनशील घटनाको सूचना पाउनासाथ प्रहरी प्रभाग लुभुबाट विशेष प्रहरी टोली हतारहतार उक्त डेरा कोठामा पुगेर घेराबन्दीसहित खानतलासी गरेको थियो ।
प्रहरी टोलीले कोठाभित्र खानतलासी गर्दा त्यहाँ कुनै हत्या नभएको र मन्दिराको हात तथा ओछ्यानमा रगत नभई अबिर मात्र दलेको फेला पारेको थियो । प्रहरीले नियन्त्रणमा लिएर ती महिलालाई सोधपुछ गर्दा सामाजिक सञ्जाल र साथीभाइमाझ प्र्याङ्क भिडियो बनाएको खुलेको थियो।
झुट्टा अफवाह फैलाएर राज्यको सुरक्षा संयन्त्रलाई समेत गुमराहमा राख्दै अशान्ति सिर्जना गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकी मन्दिरा गुरुङमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको ललितपुर प्रहरीले जनाएको छ ।

















