१४ असार, काठमाडौँ । आजै वा भोलिसम्म देशका बाँकी स्थानमा पनि मनसुन पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज (सोमबारं) बिहान जारी गरेको बुलेटिनअनुसार मनसुन पुग्न बाँकी रहेका गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानमा पनि मनसुनी वायु सोमबार वा मंगलबारसम्म विस्तार हुने सम्भावना देखिएको हो।
हाल कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भाग, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानसम्म मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
मौसम महाशाखाका अनुसार देशभर साधारणतया बादल बादल लागेको छ। लुम्बिनी प्रदेशका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका केही स्थान, कोसी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

















