९ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।
गत चैत १५ गते भएको हिंसात्मक घटनाको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले अनुसन्धान फाइल आएको पुष्टि गरेका छन् । आजै मुद्धा दर्ता गर्ने तयारी भएपनि समय अभावले नभ्याइएकाले अब आइतबारमात्रै दर्ता गर्ने शर्माले बताएका छन् ।
प्रहरीको अनुसन्धान फाइल अध्ययन गरेपछि कसलाई के मुद्दा लगाउने भन्ने यकिन गरेर मुद्दा दर्ता गर्नुपर्ने शर्माको भनाई छ । यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।














