९ जेठ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा आजै आदेश आउने तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा रास्वपा समर्थकहरूको बाक्लो भीड लागेको छ।
रवि लामिछाने हाल बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा छन्। उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
उक्त रिटमा शुक्रबार ९जेठ ९ गते० सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलाशमा सुनुवाइ सम्पन्न भएको हो। अदालत स्रोतका अनुसार न्यायाधीशद्वयले ढोका बन्द गरेर आदेशलाई अन्तिम रूप दिइरहेका छन् भने उनीहरूसँग इजलास अधिकृत मात्र उपस्थित छन्।
अदालत परिसरमा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरू बाक्लो संख्यामा भेला भएका छन्। उनीहरू लामिछाने रिहा हुने अपेक्षासहित नाराबाजी गर्दै भीड बढाइरहेका छन्। सञ्चारकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको छ। रविका समर्थकहरूले ‘रिहा गर’, ‘न्याय देऊ’ भन्ने नारासमेत लगाइरहेका छन्।
सर्वोच्च परिसरमा प्रहरीको बाक्लो उपस्थितिसहित सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालतमा रविका पत्नी निकिता पौडेल पनि उपस्थित छन्।
रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी संस्था सम्बन्धी ठगी मुद्दामा संलग्न रहेको आरोपमा अनुसन्धान थालिएको थियो। यसै मुद्दाअन्तर्गत रुपन्देही जिल्ला अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिएको थियो, तर पछि उच्च अदालत बुटवलले त्यो आदेश उल्टाउँदै थुनामा पठाउने आदेश दिएको थियो।
त्यसैपछि, लामिछानेलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा दायर गरिएको हो।
अब केही घण्टामै सर्वोच्च अदालतले रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा आदेश सुनाउने तयारी गरिरहेको छ। आदेशको प्रतिक्षामा सर्वसाधारणदेखि सञ्चारकर्मी, रास्वपा समर्थक र कानुनी क्षेत्रका व्यक्तिहरूको चासो अत्यधिक छ।
आदेशले रवि लामिछाने रास्वपाको नेतृत्व, सहकारी प्रकरण र नेपाली राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्नसक्ने देखिएको छ।














