Logo

११ जेठ,वीरगञ्ज । मधेश प्रदेश आमसञ्चार प्राधिकरणको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा वीरगञ्जमा साइबर सुरक्षा र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सांसद श्याम पटेलले वर्तमान राजनीतिको विकृतिझैं मिडियामा पनि ’छाडापन’ बढेको टिप्पणी गरे। उनले मिडियाको शक्तिलाई जोड दिँदै पत्रकारहरूलाई जिम्मेवार र गम्भीर पत्रकारिता अपनाउन आग्रह गरे।

“मिडियाले चाहे हिरो बनाइदिने र चाहे जिरो बनाइदिने हुँदा मिडियाले गम्भीर भएर जिम्मेवार पत्रकारिता गर्नुपर्छ,“ सांसद पटेलले भने। उनले पत्रकारिताको विकाससँगै युट्युबरहरूको बढ्दो संख्या र उनीहरूमा देखिएको ’छाडापन’ले पत्रकारिताको गरिमामा आँच पुर्‍याइरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए। समाज सुधार्न सबैको दायित्व भएको र पत्रकारकै कारण समाज बन्ने वा बिग्रने भएकाले पत्रकारहरूलाई निष्पक्ष भएर काम गर्न उनले आग्रह गरे।

पत्रकारको उत्थानका लागि प्राधिकरणको भूमिका

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले मधेश प्रदेशका सञ्चारकर्मीहरूको उत्थान र वृत्तिविकासका लागि नै प्राधिकरणको गठन भएको स्पष्ट पारे। उनले स्वास्थ्य बीमा र दुर्घटना बीमामा छुटपुट भएका पत्रकारहरूलाई पुनः समेटिने जानकारी दिँदै मधेश प्रदेशमा हालसम्म ४०० पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा भइसकेको बताए। अध्यक्ष खड्गाले पत्रकारहरूलाई चनाखो भएर बीमाको फाइदा उठाउन पनि आग्रह गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहित विभिन्न पत्रकार संघ–संगठनका प्रतिनिधिहरूले पनि आ–आफ्नो मन्तव्य राखेका थिए। अभिमुखीकरणमा सहभागी पत्रकारहरूलाई साइबर सुरक्षा र एआई सम्बन्धी गहन प्रशिक्षण प्रदान गरिएको थियो।


सम्बन्धित समाचार
भर्खरै