Logo

१२ जेठ, महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकालाई उच्च अदालत, जनकपुरले हालै भएको एक निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ध्रुव कुमार पियाको इजलासले किसुनदेव महतोले दायर गरेको अधिकारपृच्छा उत्प्रेषण रिट निवेदनमाथि सुनुवाई गर्दै उक्त आदेश दिएको हो।

अदालतले रामगोपालपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय रामगोपालपुर महोत्तरी समेतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमाथि प्रारम्भिक सुनुवाई गरेको थियो। निवेदकका तर्फबाट उपस्थित अधिवक्ता दिपेन्द्र कुमार साहको बहस सुनेपछि, अदालतले विपक्षीहरुलाई निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न म्याद सूचना जारी गरेको छ।

अदालतले यस मुद्दामा अन्तरिम आदेशको माग समेत रहेकोले दुवै पक्षबीच छलफल गराई निष्कर्षमा पुग्न मनासिव देखेको छ। यस प्रयोजनका लागि आगामी २०८२ साल जेठ २२ गतेको पेशी तोकिएको छ।

अन्तरिम आदेशको छलफल भई अर्को आदेश नभएसम्मका लागि रामगोपालपुर नगरपालिका नगर कार्यपालिकाबाट भएको २०८१ चैत्र ३१ को निर्णय र सोको आधारमा भएको २०८२ वैशाख ३ को पत्राचार कार्यान्वयन नगर्नु नगराउनु यथावत राख्न विपक्षीहरुका नाउँमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८९२० बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख छ।

यसको सूचना विपक्षीहरुलाई दिन पनि अदालतले आदेश गरेको छ। यस आदेशले रामगोपालपुर नगरपालिकाको पछिल्लो निर्णयको कार्यान्वयनमा तत्काल रोक लगाएको छ र यस विषयमा थप अदालती प्रक्रिया अगाडि बढ्नेछ।


सम्बन्धित समाचार