२९ जेठ,काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८२ जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयबाट उनलाई यो जिम्मेवारी तोकिएको हो।
यसअघि मास्के कम्पनीको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। आजै (जेठ २८ गते) बाट उनले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन्।
चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गरेकी सबिना मास्केले २०४९ माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन्। त्यसपछि २०५१ फाल्गुन १० गते उनी कम्पनीको सेवामा स्थायी भइन् भने २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन्।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले विषम परिस्थितिमा नेपाल सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफूप्रति देखाएको विश्वास र प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कम्पनीको समग्र प्रगतिका लागि अगाडि बढ्ने समेत बताएकी छन्।















