प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३०,जेठ काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएको स्वीकार गरेकी छन्। उनले जयबीर देउवाको उजुरीका आधारमा पाठकमाथि पक्राउ पुर्जी जारी गरिएको पहिलो पटक जानकारी दिएकी हुन्।

पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा यसअघि न त पाठक स्वयंले, न त राणाले, न त साइबर ब्यूरोले नै औपचारिक जानकारी दिएका थिए। तर, रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको भन्ने समाचार प्रकाशित भएपछि राणाले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिएकी छिन्। उनले निर्देशक ज्ञवालीलाई धम्की नदिएको पनि दाबी गरेकी छन्।

राणाले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, “नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु।“

उनले आफ्नो परिवारलाई बदनाम गराउने मनसायले सामाजिक सञ्जालमा आएको एउटा तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणका बारेमा ज्ञवालीसँग कुराकानी भएको बताएकी छिन्। “उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ,“ राणाले लेखेकी छिन्।

उनका अनुसार, “उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो। यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ।“

राणाले आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएको बताएकी छिन्। “तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ,“ उनले भनेकी छिन्।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्ने बताउँदै राणाले आफू सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा भएको उल्लेख गरेकी छिन्।

उनले मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुँदैन भन्ने आफ्नो धारणा रहेको बताएकी छिन्। राणाका अनुसार, लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ।

“स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणाहरुलाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद हो,“ उनले आफ्नो स्पष्टीकरणमा उल्लेख गरेकी छिन्।

 


सम्बन्धित समाचार