१ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लामा परेको चट्याङका कारण कम्तीमा १८ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, दाङ र सल्यानमा चट्याङका घटना भएका हुन् ।
सबैभन्दा बढी क्षति रोल्पामा देखिएको छ, जहाँ मात्र आठ जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार, रोल्पाको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा छ जना बालबालिका घाइते भएका थिए। त्यस्तै, त्रिवेणी गाउँपालिकाको डाफ्ला क्षेत्रमा एक घरमा परेको चट्याङबाट थप दुई जना घाइते भएका हुन्।
अन्य जिल्लाहरूमा पनि चट्याङका कारण मानिसहरू घाइते भएका छन्। मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई जना, प्यूठानको ऐरावती गाउँपालिकामा दुई जना, र दाङको घोराही उपमहानगरपालिकामा दुई जना घाइते भएका छन्। त्यस्तै, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा एक/एक जना घाइते भएका छन्।
यसबाहेक, रसुवामा लेक लागेर एक जना घाइते भएका छन् भने रुपन्देहीमा भएको आगलागीका कारण दुई जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ।
प्रवक्ता केसीका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी ३० वटा साना/ठूला प्रकृतिका विपद्का घटना भएका छन् ।
मौसम परिवर्तनको यस संवेदनशील समयमा प्राधिकरणले चट्याङ, लेक लाग्ने, पहिरो र अन्य प्राकृतिक विपद्बबाट सुरक्षित रहन नागरिकलाई आग्रह गरेको छ।

















