१ असार, काठमाडौं । देशभरका विभिन्न मुख्य राजमार्गहरूमा पहिरोका कारण अवरोध सिर्जना भएको छ।
असार १ गते बिहान विहान १० बजेसम्मको प्राप्त जानकारी अनुसार, काठमाडौं उपत्यका, कोशी प्रदेश र बागमती प्रदेशका केही महत्त्वपूर्ण सडकखण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्।
काठमाडौँ उपत्यकाः
ललितपुर जिल्लामा बागमती गाउँपालिका–६ रुम्बाडाँडा नजिक आभ्राङ देखि सिम्दी जाने सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरोध भएको छ।
कोशी प्रदेशः
धनकुटा जिल्लाको सङ्खुुरीगढी गाउँपालिका–५ मा पहिरो खस्दा रवि राखे मेडेटार सडक पूर्ण रूपमा अवरोध भएको छ। खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१० बर्खेँटारमा मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु भएको छ।
खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिका–९, वडा नम्बर ४ मा दिक्तेल(गाईघाट सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरोध भएको छ।
बागमती प्रदेशः
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडा नजिक कान्ति लोकपथ पूर्ण रूपमा अवरोध भएको छ। सिन्धुपाल्चोक जिल्लाको सि.प्र. मोतेकोशी गाउँपालिका २ कोदारी नजिक अरनिको राजमार्गमा पनि पहिरोका कारण पूर्ण रूपमा अवरोध भएको छ।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ। पहिरो पन्छाएर सडक खुलाउने कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।















