Logo

३ असार, काठमाडौं ।  अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डसहित कम्तीमा ६ वटा स्थानमा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोला नजिकै पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । जसका कारण काठमाडौंबाट बाहिरिने र भित्रिने सयौं सवारी साधन बाटोमै रोकिएका छन् ।

यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले अस्थायी डाईभर्सन बगाएपछि सो खण्डमा पनि सवारी आवागमन दुईतर्फि बन्द भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकपथ अवरुद्ध भएको छ । सिन्धुपाल्चोकमा पनि वर्षापछिको पहिरोले अरनिको राजमार्गका तीन स्थानमा अवरोध पुर्‍याएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ र यो सडक अझै सञ्चालनमा आउन सकेको छैन । जुम्लाको सिंजामा पहिरो खसेर बन्द भएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक भने एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

अवरुद्ध रहेका सडकहरू खुलाउनका लागि सम्बन्धित निकाय र प्रहरीले प्रयास जारी राखेका छन् । वर्षा अझै जारी रहेकाले थप सडक अवरोध हुन सक्ने सम्भावना रहेको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।


सम्बन्धित समाचार