३ असार,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिकाको सभा कक्षमा आज (मंगलबार) सूर्तिजन्य पदार्थ सेवन तथा लागूऔषध न्यूनीकरण सम्बन्धि जनचेतना र ऐन कानुन सम्बन्धि अन्तर्क्रिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा सूर्तिजन्य पदार्थ सेवन र लागूऔषध सेवनबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा दुई छुट्टाछुट्टै सत्रमा छलफल गरिएको थियो । सहभागीहरूले यी पदार्थको सेवनले पार्ने स्वास्थ्य, सामाजिक र व्यक्तिगत असरहरूबारे जानकारी लिएका थिए । साथै, लागूऔषध नियन्त्रण सम्बन्धी प्रचलित कानुन र त्यसको उल्लंघनमा हुने दण्ड-सजायका प्रावधानहरूबारे पनि विस्तृत छलफल भएको थियो ।
रबि कुमार भाषकर र भागिरथ चौधरीले सहजीकरण गरेको यस कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य संयोजक विजयशंकर ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने स्वागत मनु यादवेन्द्रले गरेका थिए । यो कार्यक्रमले सूर्तिजन्य पदार्थ र लागूऔषधको दुर्व्यसन न्यूनीकरणका लागि स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
















