Logo

५ असार, काठमाडौं । अमेरिकाले एक महिनाअघि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुरु गर्ने घोषणा गरेको छ।

तर, यसका लागि केही नयाँ सर्तहरू थपिएका छन्, जसमध्ये प्रमुख शर्त पढ्न जाने विद्यार्थीले आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक (पब्लिक) गर्नुपर्नेछ। यो नीतिको मुख्य उद्देश्य अमेरिकी नागरिक र सिद्धान्तहरूप्रति विदेशी विद्यार्थीहरूको सोच र भावना गलत भएमा उनीहरूलाई अमेरिका प्रवेशमा रोक्नु हो। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत मे महिनामा केही समयका लागि भन्दै रोकिएको अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रक्रिया अब पुनः सुरु गरेको छ। यससँगै अब विद्यार्थी भिसाका लागि सम्बन्धित दूतावासबाट अन्तर्वार्ताका लागि समय लिन पाइनेछ।

अमेरिकी प्रशासनका अनुसार अमेरिकाको भिसा सर्तहरू विद्यार्थी भिसा लगायत अन्य सबै प्रकारका भिसामा लागू हुनेछन्। अमेरिकाले सामाजिक सञ्जाललाई गोप्य राख्ने कार्यलाई आफ्ना गतिविधिहरू लुकाउने प्रयासको रूपमा लिइने स्पष्ट पारेको छ।

२०२३/२०२४ मा अमेरिकामा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी थिए। जसमध्ये भारतबाट साढे ३ लाखभन्दा बढी, चीनबाट २ लाख ८० हजारसहित दोस्रो स्थानमा छन् भने करिब १७ हजार नेपाली विद्यार्थी त्यहाँ अध्ययनरत छन्।


सम्बन्धित समाचार