प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ असार, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा परामर्श गरेका छन्। आयोगले आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले प्रधानमन्त्री ओलीलाई उपनिर्वाचन र आगामी निर्वाचनको तयारीबारे जानकारी गराएका थिए।

प्रतिनिधि सभाको रुपन्देही क्षेत्र नं। ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ ९२० को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ। रुपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको पद गएपछि रिक्त भएको हो। यसैगरी, स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको पनि आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार नेपाल सरकारका तर्फबाट आवश्यक सहजीकरण र सहयोग हुने विश्वास दिलाएका छन्। उनले २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि अहिलेदेखि नै गर्दै जान आयोगलाई सुझाव दिएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा आयुक्तहरू डा. जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायतको सहभागिता थियो।

 


सम्बन्धित समाचार