६ असार,वीरगञ्ज । गत जेठ २९ गते बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन टोलमा भएको ५० वर्षीय नन्दु राउत कुर्मीको हत्यामा संलग्न मुख्य अभियुक्त उमेश जैसवालसहित पाँचै जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
नन्दु राउत कुर्मीका २६ वर्षीय छोरा दिपेन्द्र पटेलले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
प्रहरीले घटनामा मुख्य अभियुक्त सहित पाँचै जनालाई पक्राउ गरेको हो। जेठ ३० गते साँझ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन टोलबाट दिगम्बर प्रसाद जैसवाललाई पक्राउ गरेको थियो । असार ४ गते राति १२ः०५ बजे कलैया वडा नं.– ५ स्थित सागर लामिछानेको घरबाट लुकीछिपी बसेको अवस्थामा रन्जु देवी जैसवाललाई पक्राउ गरिएको थियो ।
उनी मुख्य अभियुक्त उमेश जैसवालकी श्रीमती हुन् । सोही दिन वीरगन्ज महानगरपालिका वडा नं.– १ शान्ति टोल स्थित बसिर मियाको घरबाट सुमित जैसवाल र सुजित कुमार जैसवाललाई पक्राउ गरेको थियो । सुमित र सुजित दुवै उमेश जैसवालका छोरा हुन् ।
हत्याका मुख्य अभियुक्त उमेश जयसवाललाई भने असार ५ गते राति ९ः१५ बजे बाराको बिश्रामपुर गाउँपालिका वडा नं.– ४ खुदिया टोलबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । जेठ २९ गते साँझ करिब ६ः१५ बजे उमेश साहको राइस मिल्सअगाडि नन्दु राउत कुर्मीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका कुर्मीको उपचारका क्रममा मृत्यु भएको थियो।
घटनाको करिब एक घण्टापछि मात्र प्रहरीलाई जानकारी गराइएको थियो। प्रारम्भिक प्रहरी अनुसन्धानअनुसार, मृतक नन्दु राउत कुर्मीकी नातिनी र करैयामाई गाउँपालिका वडा नम्बर ७ का गौतम पासवानबीचको भेटघाटलाई लिएर विवाद सुरु भएको थियो।
विवादका क्रममा मृतककी श्रीमतीले प्रतिवादी उमेश जैसवालका कान्छा छोरा सुजित कुमार जैसवाललाई हातपात गरेपछि सोही रिसिइबीका कारण उमेश जैसवालसहितले नन्दु राउत कुर्मीमाथि कुटपिट गरेका थिए। कुटपिटपछि घाइते भएका कुर्मीलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु घोषणा गरिएको थियो। प्रहरीले यस घटनामा थप अनुसन्धान जारी राखेको र कानुनबमोजिम कारबाही अगाडि बढाउने जनाएको छ।
यो पनि पढ्नुहोस :-
बारामा कुटपिटबाट एक जनाको मृत्यु, ३ जना पक्राउ















