प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ असार, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ८ प्रतिशत बालबालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

गैरसरकारी संस्था महासंघ पर्साले स्थापना गरेको स्व.अर्चना सशक्तिकरण स्मृति पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले पर्सा जिल्ला तुलनात्मक रूपमा मधेश प्रदेशका अन्य जिल्लाहरूभन्दा विकसित मानिए पनि, अझै ती बालबालिकाहरूलाई विद्यालयसम्म पुर्‍याउनु गैरसरकारी संस्थाहरू र सबै सरोकारवालाहरूका लागि ठूलो चुनौती रहेको औंल्याए । अर्यालले महिला सशक्तिकरणको सवालमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दैनिक २–४ वटा यस्ता घटना आउने गरेको उल्लेख गर्दै उनले भने, ‘पुरुषले विवाह गर्छ, विवाह गरेको ८–९ वर्ष बितिसक्दा पनि विवाह दर्ता, नागरिकता नबनाएको खण्डमा त्यस्ता मान्छेलाई हामी थुन्ने काम गरिरहेका छौं। जहिलेसम्म महिलाले न्याय पाउँदैनन्, त्यति दिनसम्म हामी थुन्ने काम गरिरहनेछौं।’ महिला सशक्तिकरणमा अझै गम्भीरतापूर्वक लाग्न सबैलाई अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले पर्सा जिल्ला सशक्तिकरणमा पूर्ण रूपमा ठिक छ भन्न सक्ने अवस्था नरहेको स्वीकार गरे ।

गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा स्थापित “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” यस वर्ष पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ मधुवन मथवल निवासी तुलसी पौडेल अधिकारीलाई प्रदान गरिएको हो । अधिकारीले विगत दुई दशकदेखि अरुणोदय युवा क्लब महुवन लगायत विभिन्न संघसंस्थामार्फत महिला अधिकार, सशक्तिकरण तथा बालबालिकासम्बन्धी सवालमा निरन्तर सक्रियता जनाउँदै समाजमा रहेको विकृति र विसङ्गतिलाई हटाउन ईमान्दारीपूर्वक भूमिका निभाउँदै आएकी छिन् ।

सोही योगदानको कदरस्वरूप उनलाई पुरस्कृत गरिने निर्णय गरिएको गैसस महासंघ पर्साका अध्यक्ष छठु साहले वताए । शुक्रबार नेपाल पत्रकार महासंघ वीरगंज शाखाको सभाहलमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले तुलसा पौडेल अधिकारीलाई नगद ११ हजार रुपैंया र दोसल्ला ओढाएर सम्मान गरेका थिए । गैरसकारी संस्था महासंघ नेपाल पर्साकी कार्य समिति सदस्य समेत रहेकी स्व. अर्चना गुप्ताको ४० बर्षको उम्मेरमा गत बर्ष बैशाख ९ गते असामयिक निधन भएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक राधेश्याम धिमाल र पर्सा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष वृजकिशोर पटेलको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार