प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

७ असार, काठमाडौं । इरानमा जारी इजरायल–इरान युद्धका कारण त्यहाँ फसेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारले सहयोग गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारमा सहयोग गर्ने घोषणा गरेको छ।

बीबीसीका अनुसार, भारतीय दूतावासले आफ्नो एक्स (ट्विटर) पोस्टमार्फत उद्धारका लागि नेपाली र श्रीलंकाली नागरिकले सम्पर्क गर्न भन्दै तीनवटा टेलिफोन नम्बरहरू समेत सार्वजनिक गरेको छ। दूतावासले भनेको छ, “नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावास इरानमा फसेका दुवै देशका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्नेछ।“

परराष्ट्रमन्त्री डा. आरजु राणाले केही दिनअघि भारत सरकारसँग इरानमा रहेका नेपालीको उद्धारका लागि आग्रह गरेकी थिइन्। यस प्रयोजनका लागि मन्त्री राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन्।

भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई भारतीय दूतावासको सम्पर्कमा जान भनेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरू र इरानस्थित भारतीय दूतावासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेको जानकारी दिए।

यसैबीच, इरानमा रहेका १६ नेपालीमध्ये अध्यागमनसम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेको र उनीहरूलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ।


सम्बन्धित समाचार