Logo

८ असार, वीरगञ्ज । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा लगेर जबर्जस्ती बन्दी बनाइएका ३५ जना नेपाली युवाहरूको सकुशल उद्धार गरिएको छ ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयको निर्देशनमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको उद्धार गरेको हो ।

पीडित युवाहरूलाई विभिन्न जिल्लाबाट राम्रो रोजगारी दिने लोभ देखाई भारत लगिएको थियो । तर, त्यहाँ पुर्‍याएपछि कुटपिट, मानसिक यातना र जबर्जस्ती रकम असुली जस्ता अमानवीय व्यवहार गरिएको विवरण प्राप्त भएको  परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूतावासका अनुसार घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ। साथै, उत्तराखण्डका अन्य क्षेत्रमा पनि यस्तै किसिमले नेपालीहरूलाई बन्दी बनाइएको आशंकामा थप खोजी र उद्धार कार्य जारी छ ।

उद्धार गरिएका युवाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै नेपाल फर्काइने तयारी गरिएको राजदूतावासले जनाएको छ।

नेपाल सरकारले आफ्ना नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै विदेशमा ठगी तथा मानव तस्करीका घटना विरुद्ध कडा निगरानी र शीघ्र प्रतिकार्यका लागि प्रतिबद्धता जनाएको छ।


सम्बन्धित समाचार