८ असार, काठमाडौं । अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू—फोर्डो, नतान्ज र इस्फहानमा आइतबार बिहान नेपाली समयअनुसार ४ः४५ बजे हवाई हमला गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमलापछि इरानका महत्वपूर्ण आणविक स्थलहरू पूर्ण रूपमा ध्वस्त पारिएको घोषणा गर्दै इरानलाई शान्ति कायम गर्न चेतावनी दिएका छन्। अमेरिकी हमलाको प्रतिकारस्वरूप इरानले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कर्प्स (आईआरजीसी) अनुसार, हाइफा र तेल अभिभका सैन्य अड्डाहरू सहित इजरायलका १४ प्रमुख सैन्य केन्द्रहरूलाई लक्षित गरिएको थियो।
इरानी क्षेप्यास्त्र आक्रमणबाट इजरायलको उत्तर र मध्य क्षेत्रमा ११ जना घाइते भएका छन्, जसमा दुई बालबालिका पनि छन्। तेल अभिभमा विस्फोटको आवाज सुनिएको थियो भने हाइफामा क्षेप्यास्त्र खसे पनि साइरन नबजेको भन्दै इजरायली सेनाले अनुसन्धान सुरु गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स वासिङ्टनस्थित ह्वाइट हाउसको सिचुएशन रुममा बैठकमा सहभागी भएका थिए। इरानका विदेशमन्त्री अब्बास अराकचीले आत्मरक्षाका लागि जस्तोसुकै चुनौती सामना गर्ने अधिकार इरानसँग रहेको बताएका छन्। उनले अमेरिकी हमलालाई ुअवैध, आपराधिक र खतरनाकु भन्दै यसको दीर्घकालीन असरबारे विश्वका सबै मुलुकले चिन्ता लिनुपर्ने बताए।
यसैबीच, अमेरिकी मानवअधिकार संस्थाका अनुसार जून १३ देखि हालसम्म इरानमा ६५७ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० नागरिकको मृत्यु र ३ हजार ५०० घाइते भएको पुष्टि गरेको छ। इजरायलमा २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएका छन्।
साइप्रसबाट इजरायल फर्किरहेको एक क्रुज जहाजलाई सुरक्षाका कारण अशदोद बन्दरगाहमा प्रवेश गर्न दिइएको छैन।















