Logo

८ असार, सेढवा । पर्साको जीराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३६ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले १५ औं गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३६ करोड बराबरको अनुमानित बजेट ल्याएको हो । वडा नम्बर ३ को कार्यालयको सभा हलमा आयोजित सभामा आइतबार उपाध्यक्ष रेखा चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । उनले अगामी आर्थिक बर्ष २०८२/८३ को अनुमानित बजेट ३६ करोड रुपैया प्रस्ताव गरेको बताएकी छिन् । गाउँपालिकाले अगामी आर्थिक बर्षका लागि संघीय सरकारको वित्तीय सम्मानीकरणबाट ९ करोड, संघीय शसर्तबाट १८ करोड, राजश्व बाँडफाँटबाट ८ करोड र आन्तरिक स्रोतबाट १ करोड पाउने अनुमानसहित ३६ करोड बजेट प्रस्ताव गरेको हो ।

जीराभवानी गाउँपालिकाले शिक्षा,स्वास्थ्य र कृषि लाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको जनाएको छ । पालिकाले पालिका भित्रका दुईवटा माध्यमिक बिद्यालयमा संचालित कक्षा १२ सम्मको शिक्षालाई निरन्तरता दिएको छ । यस्तै कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवन अगामी फागुन महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिएकानीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै अगामी कार्तिक र मन्सिर महिनाभित्र १० शैयाको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।

कृषि तर्फ किसानले उत्पादन गरेका अन्न बाली तथा अन्यबालीको बजार व्यवस्थापन तथा मूल्य व्यवस्थापनका लागि बिभिन्न कार्यक्रम ल्याउने निति रहेको उपाध्यक्ष चौधरीले बताईन । रासायनिक मल, उन्नत जातका बीऊ, किटनाशक औषधी लगायतका कृषिजन्य पदार्थ आवश्यकताको समयमा नपाउने र किसानले उत्पादन गरिसकेका समयमा अन्न बालीको उचित भाऊ नपाउने भएकाले यसका लागि आवश्यक निति ल्याउने उपाध्यक्ष चौधरीले बताएकी छन् ।
सिचाईका लागि कृषि बिद्युतीकरण गर्न प्रदेश सरकारसंग थप पाँच करोड माग गरिएको र पालिकाका सम्पूर्ण किसानहरुलाई सिचाईमा अत्मनिर्भर बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए । बढ्दो खडेरीका कारण किसानहरूले मार खेपिरहँदा पालिकाले सिंचाई व्यवस्थाको लागि नदी, खोलामा समेत सिंचाइ आयोजना ल्याउने तयारी रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्षहरु रामशरण ख्वास थारु, महादेव महतो थारु, कार्यपालिका सदस्य सरोज चौरसिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम शिक्षा अधिकृत शिवराज फूयालले संचालन गरेका थिए ।


सम्बन्धित समाचार