Logo

९ असार, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति भारत बिहार राज्य, बेतिया जिल्लाका २० वर्षीय अमरनाथ कुमार हुन्  । उनी हाल सर्लाहीको सुनलपडीमा बसोबास गर्दै आएका थिए ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कुमारले एक नेपाली महिलासँग फेसबुकमा साथी बनी मेसेन्जरमार्फत कुराकानी गरेका थिए । सो क्रममा पीडित महिलाको गोप्य रुपमा अश्लील तस्बिर र भिडियो स्क्रिन रेकर्ड गरी ती सामग्री फेक फेसबुक अकाउन्टमार्फत पीडितका परिवारका सदस्यलाई पठाएर चरित्र हत्या गरेका थिए ।

पीडित महिलाको उजुरीपछि ब्युरोको टोलीले असार ६ गते धादिङको धुनिवेशी नगरपालिका–८, खानी खोलाबाट उनलाई पक्राउ गरेको हो ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ । प्रहरीले डिजिटल माध्यममा सुरक्षित र जिम्मेवार व्यवहार गर्न नागरिकहरूलाई आग्रह समेत गरेको छ ।


सम्बन्धित समाचार