Logo

९ असार,धनुषा । धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सिमानामा पर्ने मुडिया सराबे नजिकै हुलाकी राजमार्गमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटना बिहान करिब ३ बजेतिर भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, अनटेस्ट नम्बर प्लेट भएको मोटरसाइकलमा तीन जना सवार थिए। उनीहरू जन्तीबाट फर्किँदै गरेको बुझिएको छ। मृतक धनुषाको शहीदनगर नगरपालिका–८ बिसरभोरा निवासी एक युवक हुन्। सोही वडाको नाथपट्टी टोलका अन्य दुई युवक गम्भीर घाइते भएका छन्। घाइतेहरूको नाम भने प्रहरीले खुलाएको छैन।

तीव्र गति र मादकपदार्थ सेवनका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले सडकछेउमा दुर्घटनाग्रस्त मोटरसाइकल र घाइतेहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको थियो। अस्पताल पु¥याएपछि चिकित्सकले एक जनालाई मृत घोषणा गरेका थिए।

धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 


सम्बन्धित समाचार
भर्खरै