Logo

फाइल तस्वीर

११ असार, काठमाडौं । इरानमा जारी द्वन्द्वका कारण अलपत्र परेका थप ७ जना नेपाली नागरिक आज ९बुधबार० स्वदेश फर्किँदैछन्। भारत सरकारको सहयोगमा उनीहरूको उद्धार भइरहेको छ।

इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ जना र अपराह्न थप ३ जना गरी कुल ७ जना नेपाली फर्कन लागेका छन्।

फर्कने नेपाली र उद्धार प्रक्रिया

दिउँसो दिल्ली हुँदै फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा रहेका छन्। बाँकी यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल साँझसम्म फर्किनेछन्। उनीहरू मंगलबार नै फर्किने तयारीमा रहे पनि एक्जिट परमिटको समस्याका कारण रोकिएका थिए। परमिट पाएका बुटवलका सुमन गैरे र गणेश पोखरेल भने मंगलबार नै स्वदेश फर्किसकेका छन्। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई विमानस्थलमा स्वागत गरेको थियो।

भारतीय दूतावासको सहयोगमा उद्धार गरिने भएपछि यी नेपालीहरू आइतबार नै आफू बसेको स्थानबाट बसमा यात्रा गरी मसहदस्थित विमानस्थल पुगेका थिए। फर्कने नेपालीहरू कोही दूतावासमा र कोही रेस्टुरेन्टमा काम गर्दै आएका थिए।

इजरायल र इरान द्वन्द्व तथा सरकारको तयारी

सरकारले इरानका साथै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई समेत उद्धार गर्ने तयारी गरिरहेको छ। गत शुक्रबार परराष्ट्रमन्त्री डा। आरजु राणाले श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा इजरायल र इरानमा जारी युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारे छलफल गरेकी थिइन्। परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा करिब ५ हजार ५ सय नेपाली नागरिक रहेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले उच्चस्तरमा आणविक बम बनाउन थालेको भन्दै त्यस विरुद्ध सैनिक कारबाही थालिएको घोषणा गरेका थिए। नेतन्याहूको भनाइमा इरानको यो कदम आणविक अप्रसार सन्धि अन्तर्गतको दायित्वको उल्लंघन हो।

बीबीसीका अनुसार, ओमानमा अमेरिका र इरानबीच आणविक कार्यक्रमसम्बन्धी नयाँ कूटनीतिक वार्ता हुने तय भएको बेला इजरायलले यो आक्रमण गरेको हो। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानको आणविक कार्यक्रम तीव्र गतिमा बढेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यसअघि अमेरिकाले पनि इरानका परमाणु केन्द्रमा आक्रमण गरेको थियो, जसको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा हवाई आक्रमण गरेको थियो। त्यसको केही घण्टापछि नै इजरायल र इरानबीच अमेरिकाको मध्यस्थतामा युद्धविराम सहमति भएको थियो।


सम्बन्धित समाचार