१२ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीनजना प्रस्तावित न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन्।
संघीय संसदको सिंहदरबारस्थित सचिवालयमा आज बसेको समिति बैठकमा सभापतिले उजुरीबारे जानकारी दिएकी हुन्। प्राप्त जानकारीअनुसार, तीमध्ये ५ वटा उजुरी प्रस्तावित न्यायाधीशका व्यक्तिकेन्द्रित छन् भने २ वटा उजुरी सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेको बुझिएको छ। यद्यपि, समितिले कुन न्यायाधीशविरुद्ध के उजुरी परेको भन्नेबारे भने खुलाएको छैन।
समितिमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका छन्। समितिले उजुरीकर्ताहरूलाई भोलि शुक्रबारको बैठकमा आमन्त्रण गरेको छ।















