१३ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८, बगहीमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई किशोरको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा बगही गाउँका अन्दाजी १६÷१७ वर्षीय आकाश पटेल (पन्ना पटेलका छोरा) र सोही उमेरका गोलु पटेल (राजेश पटेलका छोरा) रहेका छन्। दुर्घटनामा वीरगञ्ज–२८ कै इनर्वा गाउँका अन्दाजी १८÷१९ वर्षीय जयकुमार मण्डल घाइते भएका छन्। उनको उपचार भइरहेको छ।
वडाध्यक्ष सूर्युग महतो धानुकका अनुसार, शुक्रबार दिउँसो करिब २ बजे भेडाहा खोलाबाट माटो लिएर बगही गाउँको खेततर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार, आफैं अनियन्त्रित भई खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र उनीसँगै सवार गोलुको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले दुवै मृतकको शव मुचुल्का उठाएर पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।

















