२३ असार, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सबै सेवाहरू आजदेखि बन्द गरेको छ।
उपभोक्ता अदालतले हालै दिएका केही फैसलाहरूले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै संघले यो कडा कदम चालेको हो । यो विवाद उपभोक्ता अदालतले चिकित्सकीय लापरवाहीका मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेपछि सुरु भएको हो । अदालतले ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र संलग्न चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल तथा त्यहाँ कार्यरत चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।
चिकित्सक संघको भनाइ छ कि चिकित्सकीय लापरवाहीका मुद्दा र यससँग सम्बन्धित पेसागत मामिला हेर्ने अधिकार नेपाल मेडिकल काउन्सिलमा मात्र हुनुपर्छ। उनीहरूले यस्ता मुद्दाहरूलाई काउन्सिलको क्षेत्राधिकारमा सीमित गर्न कानुन संशोधनको माग गरेका छन् ।
यो सेवा अवरोध असार १७ गतेदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले देशभर कालोपट्टी बाँधेर सेवा दिँदै आएको आन्दोलनको निरन्तरता हो । चिकित्सक संघले कानुन सुधारको माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

















