२३ असार, काठमाडौं । नेपाल सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि हवाई टिकटसम्बन्धी नियममा थप कडाइ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सबै एयरलाइन्सलाई परिपत्र जारी गर्दै गन्तव्य मुलुकमा यात्रु नपुगुन्जेलसम्म दुईतर्फी टिकट रद्द गर्न नमिल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। भिजिट भिसामा वैदेशिक यात्रामा जाने नेपाली नागरिकका लागि दुईतर्फी टिकट अनिवार्य शर्त हो। यद्यपि, अध्यागमन कार्यालयका अनुसार केही यात्रुले नेपालको अध्यागमन प्रक्रिया पूरा गरेर बोर्डिङ पास लिनेबित्तिकै फर्कने टिकट रद्द गर्ने गरेको पाइएको थियो। यस्तो प्रवृत्तिले सरकारको नियमको उद्देश्यलाई नै कमजोर बनाएको ठहर गर्दै विभागले यो नयाँ निर्देशन जारी गरेको हो।
नयाँ व्यवस्थाअनुसार, अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकले आफ्नो गन्तव्य मुलुकको अध्यागमन प्रक्रिया सफलतापूर्वक पूरा नगरेसम्म उनीहरूको फर्कने टिकट रद्द वा परिवर्तन गर्न पाइने छैन। विभागले यो व्यवस्था अनिवार्य रूपमा लागू गर्न सबै एयरलाइन्सलाई अनुरोध गरेको छ। सरकारको यो कदमले भिजिट भिसाको दुरुपयोग गरी विदेशमा अलपत्र पर्ने वा मानव बेचबिखन जस्ता जोखिममा पर्ने सम्भावनालाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

















